बेनीघाट रोराङ ८ चैलुङमा विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) तालिम सुरु

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–०८ चैलुङमा विकास पत्रकारिता तथा कृत्रिम बौद्धिकता (एआई) बारे केन्द्रित तीनदिने तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ धादिङले गाउँपालिकाको सहकार्यमा आयोजना गरेको तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा सक्रिय २६ जना पत्रकारहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले एआई प्रविधिले समाचार उत्पादन प्रक्रियामा नयाँ सम्भावना थपेको बताए। उनका अनुसार प्रविधि उपयोगले पत्रकारितामा सहजता आए पनि तथ्यपरकता, नैतिकता र जिम्मेवारी अझै बढ्ने भएकाले सचेत अभ्यास आवश्यक छ। उनले स्थानीय विकासका विषयलाई प्राथमिकतामा राख्दै जनतालाई विश्वसनीय जानकारी दिने उदेश्य अक्षुण्ण राख्न अभिप्रेरित गरे।

त्यसैगरी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले विकास पत्रकारिता सुदृढ बनाउन एआईको सही प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गरे। उनले स्थानीय समस्या, समाधान र प्रगतिलाई तथ्यसहित प्रस्तुत गर्न एआई महत्वपूर्ण उपकरण हुने बताए।

मंसिर १५ देखि १७ गतेसम्म सञ्चालन हुने तालिममा विकास पत्रकारिताका सिद्धान्त, स्थानीय मुद्दा पहिचानका तरिका, तथ्य संकलन विधि तथा एआई उपकरणको व्यवहारिक प्रयोगबारे प्रशिक्षण दिइँदैछ। आयोजकहरूले तालिमपछि जिल्लामा प्रविधिमैत्री तथा गुणस्तरीय पत्रकारिता विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।