आज विश्व एड्स दिवस: नेपालमा ३४ हजारभन्दा बढी एचआईभी सङ्क्रमित

काठमाडौं । आज डिसेम्बर १, विश्वभर विश्व एड्स दिवस विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। सन् १९८८ देखि मनाइँदै आएको यस दिवसले एचआईभी/एड्सबारे जनचेतना वृद्धि, भेदभाव अन्त्य तथा उपचार पहुँच विस्तारमा जोड दिंदै आएको छ।

यस वर्ष २०२५ को दिवसको थिम “Overcoming disruption, transforming the AIDS response” राखिएको छ। यसले स्वास्थ्य सेवा प्रणालीमा देखिएका अवरोध हटाई एचआईभी विरुद्धको अभियानलाई थप प्रभावकारी र रूपान्तरणकारी बनाउने संदेश दिएको छ।

नेपालमा हाल अनुमानित ३४ हजारभन्दा बढी व्यक्ति एचआईभी सङ्क्रमणसहित बसोबास गरिरहेको रिपोर्टछ। तीमध्ये ७७ प्रतिशत संक्रमित एआरभी (Antiretroviral Treatment) उपचार सेवामा रहेको विवरण सार्वजनिक भएको छ। साथै पछिल्ला १५ वर्षमा नेपालमा नयाँ संक्रमण दर करिब ७६ प्रतिशत ले घटेको तथ्यांकले देखाउँछ।

सरकार, अन्तर्राष्ट्रिय संस्थाहरू र समुदायस्तरका अभियानहरूले संक्रमण दर घट्न सहयोग पुगिरहेको सम्बन्धित निकायहरूले बताएका छन्। तर, अझै पनि सामाजिक कलंक, आर्थिक असमानता र स्वास्थ्य सेवामा पहुँच अभावका कारण धेरै सङ्क्रमित सेवा सुविधाबाट वञ्चित हुने समस्या रहेको सरोकारवालाहरूको भनाइ छ।

विशेषज्ञहरूका अनुसार — समयमै परीक्षण, सुरक्षित यौन व्यवहार, सुई–सिरिन्ज सावधानी, र गर्भवतीमा उपचार पहुँच बढाउन सके एचआईभी/एड्स नियन्त्रण लक्ष्य पूरा हुन सहज हुनेछ। विश्व एड्स दिवसले यिनै विषयमा ध्यानाकर्षण गराउँदै भेदभावरहित समाज निर्माणको सन्देश दिँदै मनाइँदैछ।