निःशुल्क महिला ट्रेकिङ गाइड तालिम सुरु

काठमाडौ । नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा सोलुखुम्बुको गर्मामा १५ दिने निःशुल्क महिला ट्रेकिङ गाइड तालिम सुरु भएको छ। देशका विभिन्न स्थानबाट छनोट गरिएका २८ महिलाले यस आवासीय तालिममा सहभागिता जनाइरहेका छन्।

तालिममार्फत सहभागीहरूले पदमार्ग पहिचान, हिमाली क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, समूह नेतृत्व, पर्यटकसँगको व्यवहार तथा पेशागत सेवाको आधारभूतदेखि उन्नत सीपसम्म सिक्नेछन्।

उद्घाटन कार्यक्रममा स्थानीय प्रतिनिधिहरूले पर्यटन क्षेत्रमा महिलाको बढ्दो सहभागिताले हिमाली गन्तव्यहरू अझ सुरक्षित, विश्वसनीय र समावेशी बन्दै गएको उल्लेख गरे। पर्यटन बोर्डका अनुसार यस्ता क्षमता विकास कार्यक्रमले महिलालाई व्यावसायिक ट्रेकिङ गाइडका रूपमा स्थापित गर्न र स्थानीय स्तरमा रोजगारी तथा आर्थिक सशक्तीकरणका अवसर बढाउन सहयोग गर्छ।

बोर्डले आगामी वर्षहरूमा पनि महिला–केन्द्रित तालिमलाई निरन्तरता दिँदै समुदायमा आधारित पर्यटन विकासलाई थप सुदृढ बनाउने जनाएको छ।