नेपालले कार्बन साझेदारी कोषबाट पायो एक अर्ब १९ करोड रुपैँया

काठमाडौ । तराई क्षेत्रमा सञ्चालन भएको ‘आरइडीडी प्लस’ उत्सर्जन कमी कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड घटाउन सफल भएपछि नेपालले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड रुपैयाँ प्राप्त गरेको छ।

यो रकम इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (ERPA) अन्तर्गत नेपालले पाएको पहिलो किस्ता हो। विश्व बैंकले जारी गरेको विज्ञप्तिअनुसार, यस उपलब्धिले वन विनाश रोकथाम, समावेशी तथा दिगो वन व्यवस्थापनमा नेपालका प्रयास प्रभावकारी रहेका छन् भन्ने संकेत गर्छ।

विश्व बैंकले नेपालले प्राप्त गरेको उक्त भुक्तानीले जैविक विविधता संरक्षण, वन स्रोतमा निर्भर समुदायको सशक्तिकरण तथा स्थानीय स्तरमा दिगो जीविकोपार्जनका अवसर थप बिस्तार हुने विश्वास व्यक्त गरेको छ।

वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रका अनुसार, प्राप्त रकमले आदिवासी, जनजाति, स्थानीय समुदाय र सरकारकै संयुक्त प्रतिबद्धता तथा कामको प्रभावकारिता प्रमाणित भएको छ।