रक्षा पन्त बनिन् ‘मिसेस नेपाल वर्ल्ड २०२५’

काठमाडौं । विवाहित महिलामध्ये हुने सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ मा बुटवलकी रक्षा पन्त विजेता बनेकी छन्। राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल प्रहरीले क्लबमा शनिबार राति सम्पन्न फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारिन्।

रक्षा अभिनेत्री सुरक्षा पन्तकी बहिनी समेत हुन्। उपाधि विजेता बनेपछि सुरक्षाले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिएकी छन्।

फाइनल चरणमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सोधेको ‘समाजमा रहेको कुन विकृति हटाउन चाहनुहुन्छ?’ भन्ने प्रश्नको सशक्त जवाफ दिँदै रक्षाले विजेता बन्न सफल भएको आयोजकले जनाएको छ।

रक्षाले ‘केडी फोटोग्राफी मस्ट फोटोजेनिक’ उप–उपाधि पनि जितेकी छन्। मुख्य उपाधिसँगै उनले स्कुटर तथा अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्।

यसै प्रतियोगितामा सञ्जु भट्ट ‘मिसेस नेपाल इन्टरनेशनल’ घोषित भइन्। उनले ‘सेन्ट्रल फेसन स्कुल फेसन आइकन’ उप–उपाधि पनि जितिन्।
त्यस्तै दीपिका तामाङ ‘एमएस नेपाल इन्टरनेशनल’ बनेकी छन्।

‘मिसेस नेपाल वर्ल्ड’ कै श्रेणीमा

विद्या चौहान – फस्ट रनर–अप (भ्युवर्स च्वाइस र फेसबुक च्वाइस सहित)

एलिना केसी – सेकेन्ड रनर–अप (क्युट केयर बेस्ट हेयर सहित)

निर्मला सुनुवार – थर्ड रनर–अप (सावित्री कञ्चनजङ्गा बेस्ट डान्सर सहित) घोषित भए।

विजेताहरूले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे। ‘मिसेस नेपाल इन्टरनेशनल’ तथा ‘एमएस नेपाल इन्टरनेशनल’ विजेताहरूले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्।

कार्यक्रममा अभिनेत्री, लेखिका तथा गीतकार पूजा चन्दलाई करिब साढे तीन दशकदेखि नेपाली चलचित्र, कला र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि मानार्थ सम्मान प्रदान गरिएको थियो।

रिबन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताको निर्णायक मण्डलमा पूर्वआईजीपी सर्वेन्द्र खनाल, अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, ‘मिसेस नेपाल वर्ल्ड २०२३’ पृथिविया थापा, फोटोग्राफर राजभाइ सुवाल, कोरियोग्राफर गजित विष्ट र डा. कर्ट रहेका थिए।

अश्विनीकान्त झाले कोरियोग्राफी तथा सन्दीप भुजेलले डान्स कोरियोग्राफी गरेका प्रतियोगिताको संयोजन सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गरेका थिए।