काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट : ९ जनाको मृत्यु, ३१ घाइते

अन्तर्राष्ट्रिय खबर । भारत प्रशासित काश्मिरको श्रीनगरस्थित नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।

विस्फोटपछि प्रहरी चौकीको भवन तथा परिसरमा राखिएका सवारीसाधनमा आगलागी भएर ठूलो क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय मिडियाका अनुसार हालै दिल्लीमा भएको कार बम विस्फोटको अनुसन्धानका क्रममा फरीदाबादबाट ल्याइएका विस्फोटक सामग्री परीक्षण गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक दाबी गरिएको छ। तर घटनाबारे प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

मृतकहरूमा प्रहरी र फरेन्सिक टोलीका सदस्यहरू बढी रहेको बताइएको छ। घाइतेहरूलाई उद्धार गर्दै ठूलो सङ्ख्यामा दमकल तथा एम्बुलेन्स परिचालन गरिएको थियो।

यसअघि, दिल्लीको लालकिल्ला नजिक सोमबार भएको कार विस्फोटमा मृत्यु भएका व्यक्तिको संख्या ८ बाट बढेर १३ पुगेको पछिल्ला रिपोर्टहरूले जनाएका छन्।