काठमाडौं । बुलेट मोटरसाइकल राइडर्सहरूको क्लब ‘काठमाडौं इङ्फिल्डर्स’ले धादिङका पत्रकार अशोक श्रेष्ठलाई सम्मान गरेको छ।
धादिङका विभिन्न पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले कात्तिक दोस्रो साता आयोजना गरेको टुर कार्यक्रमका क्रममा प्रचार–प्रसार, समन्वय तथा सहकार्यमार्फत सहयोग पुर्याएको भन्दै पत्रकार श्रेष्ठलाई कदरपत्रद्वारा सम्मान गरिएको हो।
आज काठमाडौंको सतुङ्गलस्थित ‘चिया हब’मा आयोजित कार्यक्रममा क्लबले पत्रकार श्रेष्ठसहित टुर सफल बनाउन सहयोग गर्ने अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरेको थियो।
क्लबले हालै तिहारलगत्तै धादिङस्थित भैरवी मन्दिर तथा वरपरका पर्यटकीय स्थलहरूमा प्रवर्द्धनात्मक यात्रा गरेको थियो। सो अवसरमा क्लबका सदस्यहरूले भैरवी माध्यमिक विद्यालयका ७० जना विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री समेत वितरण गरेका थिए।
कार्यक्रमपछि पत्रकार श्रेष्ठले धादिङको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको भन्दै आगामी दिनमा पनि यस्ता अभियानमा सक्रिय रुपमा सहभागी हुने प्रतिबद्धता जनाए।
धादिङका सक्रिय सञ्चारकर्मी तथा अनलाइन न्यूज पोर्टल ‘साँचोखबर एचडी’का सञ्चालक श्रेष्ठले पछिल्लो समय श्रव्य–दृश्य समाचारमार्फत जिल्लाका विविध विषय उजागर गर्दै आएका छन्।
श्रेष्ठले भने,
“म मध्य धादिङको मान्छे हुँ। दक्षिणी धादिङको ब्रोम्दिङदेखि उत्तरी धादिङको रुवीभ्यालीसम्मका पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा योगदान पुर्याउने चाहना राखेको छु।”
निलकण्ठ नगरपालिका–४ का बासिन्दा श्रेष्ठले धादिङको पर्यटन प्रवर्द्धनलाई निरन्तर अभियानका रूपमा अघि बढाउने योजना रहेको पनि बताएका छन्।




























