प्रमुख जिल्ला अधिकारी सहित विभिन्न सरकारी कार्यालयको टोलीद्वारा रुवीभ्याली भ्रमण

धादिङ । धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज सुवेदी सहित जिल्लाका सुरक्षा निकायका पदाधिकारी तथा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम र खानेपानी कार्यालयका प्रमुखहरूको संयुक्त टोलीले रुवी भ्याली गाउँपालिकाको भ्रमण गरेको छ।
गाउँपालिकाको विकास, सेवा प्रवाह, पूर्वाधार विस्तार र सुरक्षासम्बन्धी अवस्थाको स्थलगत अध्ययन तथा स्थानीय सरोकारवाला निकायसँगको समन्वयका उद्देश्यले गरिएको उक्त भ्रमणमा टोलीले गाउँपालिकाका विभिन्न वडाहरूमा अवलोकन गरेको थियो।
भ्रमणका क्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले गाउँपालिकाको भौगोलिक कठिनाइका बाबजुद पनि स्थानीयस्तरमा विकासका प्रयास सराहनीय रहेको बताए। उनले संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाए।
त्यसैगरी, रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले भ्रमणप्रति धन्यवाद ज्ञापन गर्दै भने, “रुवी भ्याली भौगोलिक रूपमा चुनौतीपूर्ण भए पनि यहाँका जनताको सामूहिक प्रयास र सरकारी निकायहरूको समन्वयले विकासको गति तीव्र बन्दै गएको छ। जिल्ला प्रशासन र सम्बन्धित कार्यालयहरूको स्थलगत उपस्थिति र ध्यानले गाउँपालिकामा सेवा प्रवाह र पूर्वाधार विस्तारमा थप ऊर्जा मिलेको छ ।”
भ्रमण टोलीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, सैनिक प्रतिनिधि, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुखहरू सहभागी थिए ।