जापानमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौ | जापानको इवाते प्रान्तमा आइतबार दिउँसो शक्तिशाली भूकम्प गएको छ। जापान मौसम एजेन्सीका अनुसार स्थानीय समय दिउँसो १:३३ बजे ६.७ म्याग्निच्युडको भूकम्प अनुभव गरिएको हो।

भूकम्पपछि अधिकारीहरूले इवाते प्रान्तका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै सुनामीको चेतावनी जारी गरेका छन्।
सुरक्षाका लागि इवातेको ओफुनाटो सहरबाट करिब ६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

एजेन्सीका अनुसार ओफुनाटो बन्दरगाहमा १० सेन्टिमिटर अग्लो सुनामी छाल रेकर्ड गरिएको छ। आवश्यक सतर्कताका लागि अधिकतम १ मिटर उचाइसम्मको छाल आउन सक्ने अनुमान गरिएको छ।

हालसम्म ठूलो क्षति वा जनहानि भएको विवरण प्राप्त नभएको तर स्थानीय प्रशासनले उद्धार टोलीहरू तयारी अवस्थामा राखेको जनाइएको छ।

जापान विश्वकै भू–गर्भीय रूपमा संवेदनशील क्षेत्रमध्ये एक भएकाले त्यहाँ प्रायः भूकम्पका घटना भइरहन्छन्।