काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पहलमा सात वटा कम्युनिष्ट पार्टी एक हुने तयारी अन्तिम चरणमा पुगेको छ।
माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाका अनुसार एकता गर्ने सहमति भएका दलहरूको संख्या सात पुगेको छ।
एकता प्रक्रियामा सहभागी दलहरूमा —
नेकपा (माओवादी केन्द्र)
नेकपा (एकीकृत समाजवादी)
महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी
प्रेमबहादुर सिंह नेतृत्वको नेकपा
राजु कार्की नेतृत्वको नेकपा समाजवादी
सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी
र विप्लव समूहबाट अलग भएको चिरण सी नेतृत्वको समूह रहेका छन्।
सापकोटाका अनुसार वैचारिक, राजनीतिक र नीतिगत विषयमा करिब अन्तिम सहमति भइसकेको छ भने शनिबार बसेको माओवादी सचिवालय बैठकले प्राविधिक र सांगठनिक पक्षमा छलफल गरेको हो।
नेताहरूका भनाइअनुसार एकतापछि बन्ने नयाँ पार्टीको नेतृत्व प्रचण्ड (पुष्पकमल दाहाल)ले गर्नेछन्। उनलाई संयोजक र माधवकुमार नेपाललाई सह–संयोजक तोक्ने प्रस्तावमा छलफल भइरहेको बताइएको छ।
एकीकृत समाजवादीको केन्द्रीय समितिले शुक्रबार माओवादीसहितका दलहरूसँग एकता गर्ने निर्णय गरिसकेको थियो। त्यसको भोलिपल्ट माओवादी सचिवालयले पनि एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो।
माओवादी केन्द्रले आगामी कात्तिक १७ गते केन्द्रीय समिति बैठक बोलाएर एकताको निर्णय अनुमोदन गर्ने तयारी गरेको छ।
बैठकपछि प्रचण्डले एकता प्रक्रियामा रहेका सबै दलबीच सहमति नजिक पुगेको बताउँदै, “एक साताभित्रै एकता सभा सम्पन्न हुनेछ,” भनेका छन्।




























