काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ अहिले भारतको मध्य प्रदेश आसपास पुगेर न्यूनचापीय क्षेत्रमा परिणत भएको छ। यस प्रणालीको प्रभावले नेपालमा भइरहेको वर्षा शुक्रबार साँझसम्म कायम रहने र शनिबारदेखि मौसम क्रमशः सुधार हुने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षा जारी रहेको छ।
आज राति पनि कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा रहने सम्भावना छ। केही स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, देशका उच्च पहाड र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुने पूर्वानुमान गरिएको छ। विशेष गरी कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढी रहेको छ।
मौसमविद्हरूका अनुसार शुक्रबार रातिसम्म वर्षा र हिमपातको प्रभाव रहनेछ भने शनिबार (कात्तिक १५) बाट देशभर क्रमशः मौसम सफा हुँदै जाने अपेक्षा गरिएको छ।




























