काठमाडौ । डोटी जिल्लामा एक शिक्षिका झुन्डिएको अवस्थामा मृत भेटिएकी छन्। घटनासँग सम्बन्धित भन्दै प्रहरीले एक शिक्षा अधिकृतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
पूर्वीचौकी गाउँपालिका–१ निवासी २७ वर्षीया जानकी खड्का घर नजिकै मृत भेटिएकी हुन्। उनी बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा अध्यापन गर्थिन्। शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति पाएपछि उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा पनि अध्यापन गरेकी थिइन्।
घटनापछि प्रहरीले शिक्षा समन्वय इकाई डोटीमा कार्यरत अधिकृत गणेश रावललाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीमाथि आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनास्थलबाट रावलका नाममा लेखिएको पत्र फेला पारेको बताएको छ। उक्त पत्रका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।
मृतक खड्काको शव जिल्ला अस्पताल डोटीमा पोस्टमार्टमका लागि राखिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार खड्का अविवाहित थिइन् भने पक्राउ परेका रावल विवाह विच्छेदपछि एक्लै बस्दै आएका थिए।




























