नेपाल–भारतबीच दुई नयाँ ४०० केभी प्रसारण लाइनका लागि सम्झौता

काठमाडौँ । नेपाल र भारतबीच इनरुवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) र सेयरहोल्डर सम्झौता सम्पन्न भएको छ। सम्झौतामा नेपाल विद्युत प्राधिकरण (NEA) र भारतको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेड सहभागी छन्।

नयाँ दिल्लीमा बुधबार भएको हस्ताक्षर समारोहमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर उपस्थित थिए। कार्यक्रममा नेपालका राजदूत शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल लगायत अधिकारीको सहभागिता थियो।

सम्झौता अनुसार, नेपाल र भारत दुवै देशमा संयुक्त कम्पनी स्थापना गरिनेछ। नेपालमा बन्ने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर रहनेछ, भने भारतमा बन्ने कम्पनीमा क्रमशः ४९ र ५१ प्रतिशत हिस्सेदारी हुनेछ। परियोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट लगानी जुटाइनेछ।

इनरुवा–पूर्णिया लाइनको २६ किलोमिटर भाग नेपालमा र १०९ किलोमिटर भारतमा पर्छ। त्यस्तै, लम्की–बरेली लाइनको ३३ किलोमिटर भाग नेपाल र १८५ किलोमिटर भारतमा पर्नेछ। यी परियोजनाको निर्माण सन् २०३० भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

मन्त्री घिसिङका अनुसार, नयाँ प्रसारण लाइनहरूले दुई देशबीचको विद्युत व्यापारलाई थप सुदृढ बनाउनेछन् र नेपालमा उत्पादित बिजुली अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सहयोग पुर्‍याउनेछन्। भारतीय मन्त्री खट्टरले पनि परियोजना सम्पन्न भएपछि क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार हुने र आर्थिक वृद्धिमा योगदान पुग्ने उल्लेख गरे।

हाल नेपाल र भारतबीच ४०० केभीको ढल्केबर–मुजफ्फपुर लाइन सञ्चालनमा छ भने बुटवल–गोखरपुर लाइन निर्माणाधीन छ। नेपालले हाल १३२ र ४०० केभी प्रसारण संरचना प्रयोग गरी भारत र बंगलादेशतर्फ दैनिक झण्डै एक हजार मेगावाट बिजुली पठाइरहेको छ।