काठमाडौं । पछिल्लो सात दिनमा देशभर १४४ नयाँ व्यक्तिमा डेंगुको संक्रमण पाइएको छ। वर्षायाममा मात्र देखिने यो रोग अहिले पनि कम नहुँदा स्वास्थ्य निकाय सतर्क रहन आग्रह गर्दैछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्लो २४ घण्टामा थप २४ जना नयाँ संक्रमित देखिएका छन्। योसँगै नेपालमा हालसम्म डेंगु संक्रमितको कुल संख्या ६ हजार ६ सय ६८ पुगेको छ।
प्रदेशगत हिसाबले सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा १,६४९ जना छन्। त्यसपछि गण्डकीमा १,६३१, लुम्बिनीमा १,११७, कोशीमा ८९५, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४, र मधेशमा १३९ जनामा संक्रमण पाइएको छ।
स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रणमा ध्यान दिन, घर वरिपरिको पानी जम्ने स्थानहरू सफा गर्न र शरीर ढाक्ने कपडा लगाउन सल्लाह दिएका छन्।




























