बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरतर्फ विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। सोही कारणले देशका धेरै स्थानमा मौसम बद्लिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार रातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। यसले दैनिक जनजीवन, यातायात, कृषि र पर्यटन गतिविधिमा असर गर्न सक्ने विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले प्रणालीलाई निरन्तर अनुगमन गर्दै नियमित विवरण सार्वजनिक गर्दै जाने जनाएको छ।