नर्स आन्दोलनप्रति नेविसंघको ऐक्यबद्धता

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलनरत नर्सहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ।

शनिबार जारी विज्ञप्तिमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले देशभर नर्सहरूले आफ्ना पेशागत अधिकार, सम्मान र न्यूनतम सुविधा सुनिश्चित गर्न सुरु गरेको आन्दोलनलाई पूर्ण समर्थन जनाएका हुन्।

विज्ञप्तिमा नेविसंघले नर्स र स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक, जोखिम भत्ता र सम्मानजनक सुविधा तुरुन्त सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। साथै, निजी अस्पतालहरूले सरकारी तलब मापदण्ड कार्यान्वयन गरेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन र नियमन गर्नुपर्ने बताइएको छ।

संघले श्रम शोषण, विभेद र अपमानजनक व्यवहार अन्त्यका लागि ठोस कानूनी तथा नीतिगत सुधार तुरुन्त लागू गर्न सरकारलाई आग्रह गरेको छ।

श्रम ऐन २०७४ अनुसार नेपालमा न्यूनतम ज्याला १९ हजार ५५० रुपैयाँ तोकिएको छ भने स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नर्सहरूको न्यूनतम पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ तोकिएको छ। तर, अधिकांश नर्सहरू अझै पनि १५ देखि २० हजार रुपैयाँमा काम गर्न बाध्य रहेको नेविसंघले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “यो अवस्था अत्यन्तै चिन्ताजनक छ, जसका कारण नर्सहरूको जीवनयापन, पेशागत मर्यादा र भविष्यमा गम्भीर असर पु¥याउँदै उनीहरूलाई विदेशिन बाध्य बनाएको छ।”