पृथ्वीले दोस्रो चन्द्रमा पाएको भन्ने हल्ला गलत

रोचक खबर । पछिल्ला दिनमा अनलाइन मिडिया र सामाजिक सञ्जालमा “नासाले पृथ्वीको दोस्रो चन्द्रमा पत्ता लगायो” भन्ने हल्ला फैलिएको छ । तर खगोलविद्हरूका अनुसार यो समाचार भ्रान्त हो ।

वास्तवमा खगोलविद्हरूले ‘क्वाजी–मुन’ (Quasi–moon) भनेर चिनिने एउटा क्षुद्रग्रह पत्ता लगाएका छन्, जुन पृथ्वीको नजिक परिक्रमा गर्छ तर वास्तवमा सूर्यको कक्षामा घुम्ने पिण्ड हो ।

हवाईस्थित प्यान–स्टार्स अब्जर्भेटरी ले यो सानो क्षुद्रग्रह पहिलोपटक देखेको थियो र यसलाई २०२५ पीएन७ (Asteroid 2025 PN7) नाम दिइएको हो । यसको व्यास करिब ६२ फिट रहेको र पछिल्ला ६ दशकदेखि पृथ्वी नजिक रहेको वैज्ञानिकहरूले बताएका छन् ।

प्लानेटरी सोसाइटीका अनुसार, क्वाजी–मुनहरू पृथ्वीको वरिपरि परिक्रमा गरिरहेको जस्तो देखिए पनि ती वास्तवमा सूर्यकै गुरुत्वाकर्षणमा बाँधिएका क्षुद्रग्रहहरू हुन् ।

खगोलविद्हरूको अनुमान अनुसार, २०२५ पीएन७ अर्को ६० वर्षसम्म पृथ्वीको नजिक रहिरहनेछ ।

यसअघि सन् २०२४ मा पनि पृथ्वीको नजिक आएको अर्को सानो चट्टानलाई ‘मिनी–मुन’ भनिएको थियो, तर त्यो अस्थायी रूपमा मात्र पृथ्वीको कक्षामा प्रवेश गरेको थियो ।

विशेषज्ञहरूका अनुसार, ‘क्वाजी–मुन’ र ‘मिनी–मुन’ बीचको मुख्य भिन्नता यही हो —
क्वाजी–मुन स्थायी खगोलीय छिमेकी हुन् भने मिनी–मुन अस्थायी आगन्तुक मात्र।