काठमाडौं । तिहारलाई उज्यालो, बत्ती र फूलको पर्वका रूपमा मनाइन्छ । घरघरमा दीप प्रज्वलन र सजावटसहित मनाइने यो पर्वमा देशभर विद्युत् खपत पनि उल्लेख्य रूपमा बढ्ने गर्दछ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजाको दिन (सोमबार) साँझ देशभरको कूल विद्युत् माग १,६५० मेगावाट पुगेको थियो। सोही समयमा नेपालले १,०१५ मेगावाट बिजुली भारत र बङ्गलादेशमा निर्यात गरेको प्राधिकरणले जनाएको छ।
गत वर्षको लक्ष्मीपूजाको दिन देशभरको माग १,६०२ मेगावाट रहेको थियो। त्यसको तुलनामा यस वर्षको माग ४८ मेगावाटले बढी भएको हो।
नेपालले हाल उत्पादन क्षमता बढेसँगै आन्तरिक खपतका लागि पर्याप्त विद्युत् उपलब्ध गराउँदै भारत र बङ्गलादेशमा निर्यात पनि गर्दै आएको छ। यसले देशको विद्युत् व्यापार र विदेशी मुद्रा आम्दानीमा योगदान पुर्याइरहेको प्राधिकरणको भनाइ छ।




























