तिहार अर्थात यम पञ्चक आजदेखि सुरु

काठमाडौं । उज्यालो र उल्लासको पर्वका रूपमा मनाइने यमपञ्चक अर्थात् तिहार आजदेखि देशभर सुरु भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १:२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान पर्व मनाइँदैछ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आइतबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्नेछ। सोमबार बिहान अपामार्गसहित स्नान गरी दीपदान गर्ने परम्परा छ।

कात्तिक ५ गते बुधबार गाईगोरु तथा गोवर्द्धन पूजा, साथै नेपाल संवत् ११४६ सुरु हुनेछ।
भाइटीका भने कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे शुभ साइतमा गर्नुपर्ने समितिले जनाएको छ। भाइटीका लगाइदिने दिदीबहिनी पूर्व फर्कने र दाजुभाइ पश्चिम फर्कने परम्परा शास्त्रसम्मत मानिन्छ।

तिहारका अवसरमा काठमाडौंलगायत देशका विभिन्न सहरहरू बत्तीले झिलिमिली भएका छन्। भैलो–देउसीको तयारी सुरु भइसकेको छ भने प्रहरी प्रशासनले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आग्रह गरेको छ।