नेपाल लगातार दोस्रो पटक टी–२० विश्वकपमा

काठमाडौं । नेपालले लगातार दोस्रो पटक टी–२० क्रिकेट विश्वकपमा स्थान सुरक्षित गरेको छ।

बुधबार सम्पन्न सुपर सिक्स चरणमा यूएईले सामोआमाथि ७७ रनको फराकिलो जित निकाल्दै गर्दा नेपाल र ओमान दुई खेलअघि नै आगामी विश्वकपका लागि छनोट भएका हुन्।

सन् २०२६ फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हुनेछ। यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक र सन् २०२४ मा दोस्रो पटक विश्वकप खेलेको थियो।

नेपालको टोलीमा यसपटक सन् २०१४ को विश्वकप टोलीका सदस्य सोमपाल कामी मात्र पुनः सहभागी हुने भएका छन्।

सुपर सिक्समा नेपालले यूएईलाई १ रन र कतारलाई ५ रनले हराएको थियो। अन्तिम खेलमा नेपालले शुक्रबार सामोआसँग प्रतिस्पर्धा गर्नेछ।