धादिङ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सञ्जिवनी पोखरेल प्रथम

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा शुक्रबार धादिङबेसीमा सम्पन्न “युवा पुस्ताको चाहना : असल नेतृत्व र इमानदार राजनीति” शीर्षकअन्तर्गतको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ नगरपालिका धादिङकी सञ्जिवनी पोखरेल प्रथम भएकी छिन्।

प्रतियोगितामा जिल्लाका १३ पालिकाका ३२ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। समान अंक ल्याएपछि आयोजकले गोला प्रणाली मार्फत नतिजा टुंग्याएको हो।

गोला प्रणालीपछि पोखरेल पहिलो र इशा थापा दोस्रो घोषित भए। उनीहरूले क्रमशः रु. ५० हजार र रु. ३० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे।

त्यसैगरी गल्छी गाउँपालिकाकी सूचना अधिकारी तेस्रो भइ रु. २० हजार, त्रिपुरासुन्दरी गाउँपालिकाकी सन्ध्या बिक चौथो भइ रु. १० हजार, र थाक्रेकी समृद्धि रुपाखेती पाँचौँ स्थानमा परेकी छन्। चौथो र पाँचौँ स्थान पनि समान अंकका कारण गोला प्रणालीबाटै तय गरिएको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षता रहेको थियो। उनले कार्यक्रममा बोल्दै प्रतियोगिताको उद्देश्य युवा पुस्तामा वक्तृत्वकला, आत्मविश्वास र सामाजिक विषयप्रति विश्लेषणात्मक सोच विकास गर्नु रहेको बताए।