काठमाडौं । विदेश रोजगारीको लालचमा भारतको बाटो प्रयोग गरी युक्रेन पुगेका केही नेपालीहरू मानव तस्करीको शिकार भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा जर्मनीस्थित नेपाली दूतावासको समन्वयमा भर्खरै दुई जनालाई उद्धार गरी नेपाल फर्काइएको संघले जनाएको छ।
उद्धार गरिएका व्यक्तिहरू रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसी हुन्। उनीहरू सन् २०२४ को जुलाइमा युक्रेन पुगेका थिए र करिब १४ महिनादेखि कीएभस्थित इमिग्रेसन क्याम्पमा बसेको पाइएको छ। उद्धारपछि उनीहरू मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै काठमाण्डौ आइपुगेका थिए।
एनआरएनएको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले उद्धारमा संघले भूमिका खेलेको र दूतावासले आवश्यक सहजीकरण गरेको जानकारी दिएका छन्। उद्धार टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनीहरूलाई स्वागत गरेको बताइएको छ।
उद्धारप्रक्रियाका क्रममा ती व्यक्तिले कसलाई र कति रकम बुझाएर यत्रा थालेका थिए भन्ने सम्बन्धमा सबै विवरण खुल्न बाँकी रहेको समाचारमा उल्लेख छ। परराष्ट्र मन्त्रालयले पनि विदेश यात्रा गर्दा सम्बन्धित देशका अध्यागमन र आवाश्यक कानुन कडाइका साथ पालन गर्न सबैलाई आग्रह गरेको छ।
मन्त्रालयले अवैध वा अनौपचारिक मार्गबाट विदेश जानु जोखिमपूर्ण भएको र त्यस्तो व्यवहारसम्बन्धी प्रलोभन तथा बहकाउबाट सचेत रहन सुझाव दिइएको बताएको छ। साथै, विदेशमा पक्राउ परे उद्धार प्रक्रिया जटिल हुने समेत चेतावनी जारी गरिएको छ।
जनतालाई सजग बनाउने र वैदेशिक रोजगारीका लागि आधिकारिक चैनल र कानुनी प्रक्रियामार्फत मात्र जान सामान्य सुझाब दिइएको छ।




























