आज संविधान दिवस २०८२: विविध कार्यक्रम गरि मनाइदै

काठमाडौ । नेपालमा आज असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

राजधानी काठमाडौंको टुँडिखेलमा बिहान ८:३० बजे विशेष समारोह आयोजना गरिएको छ, जसमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि बनेका छन्। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ। यद्यपि हालको राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायत सांस्कृतिक प्रस्तुति स्थगित गरिएको छ।

२०७२ साल असोज ३ गते नेपाल संविधानसभाबाट पारित भएर तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान घोषणा गरेका थिए। लामो संघर्ष, बलिदान र लोकतान्त्रिक यात्रापछि प्राप्त संविधानलाई ऐतिहासिक उपलब्धि मान्दै हरेक वर्ष यो दिन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ।

यस अवसरमा संविधानको संरक्षण, कार्यान्वयन र परिमार्जनमार्फत मुलुकलाई अझ समावेशी, समान र स्थायी बनाउन आवश्यकतामा जोड दिइएको छ।