संसद् विघटन: सुशीला कार्की अन्तरिम प्रधानमन्त्रीमा

काठमाडौं । देशको राजनीतिक संकट समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गर्ने सहमतिमा पुगेका छन्। जेन–जी आन्दोलनले निरन्तर अघि सारेको प्रमुख मागअनुसार संसद् भंग गरेर अन्तरिम सरकार गठन गर्ने सहमति शीतलनिवासमा भएको हो।

यसै क्रममा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने निर्णय भएको छ। कार्कीले चाँडै शपथग्रहण गर्ने तयारी भएको बताइन्छ।

सिंहदरबारमा नयाँ बनेको गृह मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यक्षेत्रका रूपमा प्रयोग गर्ने तयारी भइरहेको छ। त्यहाँ कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री जस्तै कुर्सी, टेबल, फर्निचर लगायतको व्यवस्था भइसकेको स्रोतहरूले जनाएका छन्।

राजनीतिक वृत्तमा यस घटनालाई ऐतिहासिक मानिएको छ, किनभने नेपालले पहिलोपटक महिला नेतृत्वमा अन्तरिम सरकार पाउन लागेको छ।