काठमाडौँ | देशभर फैलिएको जेनजी आन्दोलनको तेस्रो दिन राजधानीलगायत विभिन्न स्थानमा तोडफोड र आगजनी भएपछि सुरक्षा बललाई कडा बनाइएको छ। बुधबार राति १० बजेपछि सुरक्षाको नेतृत्व नेपाली सेनाले लिएर संवेदनशील क्षेत्र तथा मुख्य सडकमा नियन्त्रण मजबुत गरेको हो।
सेना परिचालनसँगै आगजनी र लुटपाटका गतिविधि रोकिएका छन्। राजधानीसहित धेरै ठाउँको अवस्था सामान्यतर्फ फर्किएको सुरक्षा निकायले जनाएको छ।
यसक्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सैनिक जवानहरू मिलेर सडकमा पैदल गस्ती गर्दै शान्ति कायम राख्ने प्रयास भइरहेको छ।
सुरक्षा निकायहरूले आम नागरिकलाई अराजक गतिविधि नगर्न चेतावनी दिएका छन्। वरपर अपराधजन्य वा हिंसात्मक गतिविधि देखिए तुरुन्त जानकारी दिन पनि आग्रह गरिएको छ।
आन्दोलनका क्रममा संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबारदेखि विभिन्न सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ। केही स्थानमा कार्यालयहरूमा आगजनी भएको छ भने सार्वजनिक सम्पत्ति नोक्सानीमा परेको छ।
शान्ति बहालीका लागि सेनासहित सबै सुरक्षा निकायले छुट्टाछुट्टै अपिल जारी गर्दै नागरिकसँग सहयोग मागेका छन्। उनीहरूले सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै कानूनी शासन पुनःस्थापनामा सहकार्य गर्न आग्रह गरेका छन्।




























