धादिङमा १० किलो गाँजा सहित एक व्यक्ति पक्राउ

धादिङ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार गल्छी गाउँपालिका–६ कार्की डाँडाबाट महेश दोभानतर्फ आउँदै गरेको स्कुटरलाई जाँच गर्ने क्रममा, चालक कास्की पोखरा–९ का २९ वर्षीय सञ्जय के.सी. को साथबाट १० किलो २४० ग्राम गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका के.सी.लाई जिल्ला अदालत धादिङबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् ।