वीरगञ्जमा हैजाको प्रकोप : ६ दिनमै २२६ संक्रमित

पर्सा । वीरगञ्ज क्षेत्रमा पछिल्ला केही दिनयता हैजाको सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। नारायणी अस्पतालका तथ्यांकअनुसार भदौ ६ देखि ११ गतेसम्म कुल २२६ जना विरामी उपचारका लागि आएका छन्।

अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार हालसम्म ६४ जना बिरामी उपचाररत छन् भने अधिकांशको अवस्था सामान्य छ। अहिलेसम्म १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् भने ६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ।

बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ परीक्षण गरिएकोमा ४८ जनामा हैजा पुष्टि भएको छ। तीमध्ये १५ जनाको नमूना थप परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र १२ जनामा भिब्रिओ कोलेरा फेला परेको जानकारी दिइएको छ।

स्वास्थ्यकर्मीहरूले हैजाको लक्षण देखिए तुरुन्त अस्पताल जान र खानेपानी शुद्धिकरण गरी प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।