रौतहट, भदौ ११ – रौतहट कि रुवी साहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा खोजीमा रहेका एक युवकले आत्मदाह प्रयास गरेका छन्। प्रहरीले उनलाई घाइते अवस्थामा पक्राउ गरी अस्पतालमा भर्ना गरेको छ।
माधवनारायण नगरपालिका–६ निवासी लक्ष्मण पासवानले बुधबार बिहान आफ्नै घर नजिकको नहर छेउमा शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। प्रहरीको टोलीले समयमै पुगेर उनलाई नियन्त्रणमा लिएको हो।
गत शनिबार राति गौर नगरपालिका–९ मा एक युवतीको शव सुटकेसभित्र फेला परेको थियो। पछि शव रुवी साहको भएको पुष्टि भएको थियो। अनुसन्धानमा प्रहरीले पत्ता लगाएको अनुसार पासवानले हत्या गरी शव लुकाउन सुटकेसमा राखी ई–रिक्साबाट सार्ने प्रयास गरेका थिए। तर, रिक्सामा समस्या आएपछि शव सडकमै छाडेर उनी फरार भएका थिए।
शव सार्न प्रयोग गरिएको रिक्साका चालकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। लक्ष्मण पासवान केही समय अघि मलेसियाबाट फर्किएका थिए। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।




























