धादिङ । धादिङको खनियाबास गाउँपालिका–१ (पूर्व झार्लाङ) निवासी सेल्बा लामा हाल अमेरिकामा रहेर प्रवासी नेपाली समाजमा सक्रिय रूपमा नेतृत्व गर्दै आएका छन्। हालै सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्टकी च्याप्टरको निर्वाचनमा उनी अध्यक्ष पदमा निर्वाचित भएका छन्।
२०२५–२०२७ कार्यकालका लागि अगस्ट १७ र १८ मा सम्पन्न निर्वाचनमा लामाले २६९ मत प्राप्त गरी विजय हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी एकनारायण सुवेदीले १६० मत पाएका थिए।
नव-निर्वाचित अध्यक्ष लामाले आफूले प्रवासी नेपालीहरूको हकहित, अधिकार र पहिचान संरक्षणमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सामाजिक, सांस्कृतिक तथा पेशागत क्षेत्रमा एकता र सबलीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए।
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका उनी अमेरिकामा बसोबास गरे पनि नेपाली समुदायसँग निरन्तर जोडिएर काम गर्दै आएका छन्। केन्टकी राज्यमा रहेका नेपालीहरूको बीचमा उनको नेतृत्व क्षमता र समर्पणको विशेष प्रशंसा हुँदै आएको छ।
यो जितसँगै उनी एनआरएनएको नयाँ नेतृत्वका रूपमा उदाएका छन्, साथै अमेरिकामा रहेका धादिङे समुदायलाई गर्वको अनुभूति हुने खालको उपलब्धि बनेको छ।




























