देशभरका उत्कृष्ट ६ स्थानीय तह मध्य धादिङका नीलकण्ठ र वेनिघाटरोराङ चयन

Add a subheading - 1

धादिङ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) २०८०/८१ को नतिजामा धादिङ जिल्लाका दुई स्थानीय तह नीलकण्ठ नगरपालिका र वेनिघाटरोराङ गाउँपालिका देशभरका उत्कृष्ट ६ मध्ये छनोट भएका छन्।

मन्त्रालयले नगरपालिकातर्फ धादिङको नीलकण्ठ, चितवनको खैरहनी र रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ। त्यस्तै, गाउँपालिकातर्फ धादिङकै वेनिघाटरोराङ, स्याङ्जाको अर्जुनचौपारी र गुल्मीको रुरुक्षेत्र गाउँपालिका छनोट भएका छन्।

लिसा मूल्याङ्कनमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय पारदर्शिता, सेवा प्रवाह, समन्वय र सहकार्य, न्यायिक कार्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन गरी १० शीर्षकलाई आधार बनाइएको थियो।

मन्त्रालयका अनुसार, यस मूल्याङ्कनले पालिकाहरूको उपलब्धि मापन गर्नुका साथै सुधार आवश्यक पक्षहरू पहिचान गर्ने, स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धा बढाउने र दीर्घकालीन विकासलाई प्रभावकारी बनाउन मद्दत गर्ने उद्देश्य लिएको छ।