सेचेन करुणा द्वारा रुवीभ्याली गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

धादिङ । सेचेन करुणाले स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउने उद्देश्यका साथ रूबीभ्याली गाउँपालिकाको आधारभुत अस्पताललाई प्रयोगशाला (ल्याव) का विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा सेचेन करुणाका कार्यक्रम संयोजक कृष्ण गुरुङले गाउँपालिका उपाध्यक्ष फेलामा तामाङलाई सामग्री हस्तान्तरण गर्नुभयो ।
उपाध्यक्ष फेलामा तामाङले भन्नुभयो, “सेचेन करुणाको निरन्तरको सहयोग प्रशंसनीय छ । यस किसिमका स्वास्थ्य सामग्री प्राप्त भएपछि हाम्रो गाउँपालिकामा आधारभूत परीक्षण सेवा सहज र गुणस्तरीय रूपमा प्रवाह गर्न सकिनेछ । यो सहयोगले गाउँबासीको स्वास्थ्य अधिकार सुनिश्चित गर्न ठुलो टेवा पुर्‍याउनेछ ।”

त्यसैगरी सेचेन करुणाका कार्यक्रम संयोजक गुरुङले भन्नुभयो, “हामीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनजस्ता क्षेत्रमा निरन्तर काम गर्दै आएका छौँ । यसपटक हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीले गाउँपालिकाको स्वास्थ्य सेवामा प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरेका छौँ ।”

सेचेन करुणाले यसअघि पनि विद्यालय सुधार, स्वास्थ्य संस्था सबलीकरण र कृषि प्रवर्द्धनमा विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाले स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार बनाएर सहयोगका कार्यक्रम अघि सारेको जनाएको छ ।