धादिङका माधवकुमार धमलाको नेपाल पर्वतारोहण संघको निर्वाचनमा उम्मेदवारी

धादिङ । नेपाल पर्वतारोहण संघ (NMA) को आगामी निर्वाचनमा धादिङका माधवकुमार धमलाले सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। धमला विश्व कीर्तिमानी आरोही फुर गेल्जे शेर्पाको नेतृत्वमा बनेको समूहबाट उम्मेदवार बनेका हुन्।

नीलकण्ठ नगरपालिका–११, ज्यामरुङ निवासी धमला सन् २००१ देखि पर्वतीय पर्यटन क्षेत्रमा सक्रिय छन्। उनी गोरेटो ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. का सञ्चालकसमेत हुन्। शेर्पाको प्यानलबाट उम्मेदवारी दिने धमला धादिङबाट एक्ला उम्मेदवार हुन्।

अध्यक्ष पदका लागि उम्मेदवार रहेका शेर्पाले आफ्नो प्यानलको तर्फबाट ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले संघको कल्याणकारी कोष पुनःस्थापना गर्न व्यक्तिगत रूपमा २० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन्। साथै, पदयात्रा तथा चुली आरोहण अनुमति प्रणाली सुधार, मनाङ माउन्टेनियरिङ स्कूल र पोखरा अन्तर्राष्ट्रिय माउन्टेन म्युजियमको स्तरोन्नति, जोखिम व्यवस्थापन युनिट स्थापनालगायतका एजेन्डा सार्वजनिक गरेका छन्।

यसैबीच, धादिङकै अर्का उम्मेदवार कुलबहादुर गुरुङ भने अर्को प्यानलबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छन्। गुरुङको समूहलाई एमाले तथा केही कांग्रेस निकट व्यवसायीहरूको समर्थन रहेको जनाइएको छ, भने शेर्पा नेतृत्वको प्यानललाई स्वतन्त्र आरोही, पेशाकर्मी र पर्वतारोहण क्षेत्रका प्रबुद्ध समूहहरूको साथ रहेको छ।

नेपाल पर्वतारोहण संघको निर्वाचन भदौ ७ गतेका लागि तोकिएको छ।