ट्रम्प–पुटिन बीच अलास्कामा वार्ता : स्वागतसँगै सैन्य शक्ति प्रदर्शन

अलास्का, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा तीन घण्टा लामो वार्ता सम्पन्न भएको छ। वार्ता कुनै औपचारिक सहमति बिना टुंगिए पनि यो भेटलाई ऐतिहासिक मानिएको छ, किनभने करिब एक दशकपछि पुटिन अमेरिकी भूमिमा पुगेका हुन्।

पुटिनको आगमनमा ट्रम्पले रातो कार्पेट ओछ्याएर आतिथ्य देखाए। तर, स्वागतसँगै अमेरिकी सैन्य शक्ति प्रदर्शन पनि प्रमुख आकर्षण बन्यो। पुटिनको विमानलाई अमेरिकी लडाकु विमानले एस्कोर्ट गरे र मञ्चतर्फ जाँदै गर्दा बी–२ बमवर्षक तथा अन्य जेट आकाशमा उडाइए। यही बमवर्षक केही महिनाअघि इरानका आणविक केन्द्रमाथि आक्रमणमा प्रयोग भएको थियो।

वार्तापछि ट्रम्पले सकारात्मक प्रगति भएको बताए भने पुटिनले रूसको सुरक्षा चासो नै मुख्य विषय रहेको स्पष्ट पारे। ट्रम्पले युद्ध जारी रहे रुसले आर्थिक दबाब झेल्नुपर्ने चेतावनी पनि दोहोर्‍याए।

पत्रकारले “नागरिकहरूलाई मार्न कहिले रोक्नुहुन्छ?” भनेर सोध्दा पुटिनले सुन्न नसकेको संकेत गरे। त्यसपछि दुवै नेता ट्रम्पको ‘द बिस्ट’ भनिने सवारी चढी वार्तास्थलतर्फ प्रस्थान गरे। पुटिनको लिमोजिन भने प्रयोगमा आएन।

यसरी, सहमति नजोडिए पनि यो भेटले अमेरिकी भूमिमा भएको दुर्लभ कूटनीतिक क्षण र सैन्य शक्ति प्रदर्शन दुवै सन्देश बोकेको देखियो।