धादिङका विजय तामाङ: दुई दिनमै लोकसेवा आयोगमा दुई ठूला सफलता

धादिङ । थाक्रे गाउँपालिकामा बाल्यकाल बिताएका विजय तामाङले पछिल्ला दिनमा एकपछि अर्को उपलब्धि हात पारेका छन्। दुई दिनको फरकमा उनले दुई फरक सरकारी पदमा नाम निकाल्न सफल भएका हुन्।

पहिलो सफलता बागमती प्रदेश लोकसेवा आयोगको सातौँ तह शिक्षा अधिकृत पदमा आयो। यसका लागि उनी गंगाजमुना गाउँपालिकामा नियुक्तिपत्र लिन गएका थिए। नियुक्तिपत्र लिएर फर्कँदै गर्दा संघीय लोकसेवा आयोगको विद्यालय निरीक्षक (राजपत्रांकित तृतीय श्रेणी) पदमा समेत आफ्नो नाम परेको जानकारी पाए।

अब उनी यी दुई अवसरमध्ये कुन रोज्ने भन्नेबारे परिवार र साथीहरूसँग छलफलमा छन्।

विजयले आफ्नो पेशागत यात्रा एडभान्स एकेडेमीमा शिक्षकको रूपमा सुरु गरेका थिए। त्यसपछि प्राथमिक तहको स्थायी दरबन्दीमा नीलकण्ठ नगरपालिका अन्तर्गतको शंखादेवी प्राथमिक विद्यालयमा अध्यापन गरिरहेका छन्। केही समयअघि मावि स्थायी शिक्षकको अन्तर्वार्तामा नाम समावेश भए पनि अब त्यो पदमा जाने योजना भने छैन।