सरकारी जागिर छोड्नेको संख्या बढ्दो

काठमाडौँ । पछिल्ला केही वर्षयता सरकारी सेवामा कार्यरत कर्मचारीहरूबीच बीचमै जागिर छोड्ने प्रवृत्ति बढेको देखिएको छ। लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्त भए पनि धेरै कर्मचारीले सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका छन्।

गत चार आर्थिक वर्षको तथ्यांकअनुसार करिब तीन हजारजति कर्मचारीले यसरी पद त्याग गरेका छन्। २०७८/७९ मा ७६९, २०७९/८० मा ८०४, २०८०/८१ मा ७१४ र २०८१/८२ मा ५९८ जनाले स्वेच्छाले सेवा अन्त्य गरेका थिए।

विशेषज्ञहरूका अनुसार यस प्रवृत्तिका कारणहरूमा पारिवारिक समस्या, कार्यस्थलमा बढ्दो मानसिक दबाव, सुविधा र पारिश्रमिकप्रति असन्तुष्टि, जनप्रतिनिधिबाट अनावश्यक दबाब, दाम्पत्य जीवनमा टाढा बस्नु पर्ने अवस्था तथा अन्य क्षेत्रमा राम्रो अवसर पाउनु आदि छन्।

पद त्याग गर्नेहरूमा कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कर्मचारी पर्छन्। यद्यपि, सचिवस्तरका केही व्यक्तिले पेन्सन सुविधा बढाउन सेवा अवकाशभन्दा केही दिनअघि मात्र राजीनामा दिने गरेको पनि देखिन्छ।

विभिन्न निकायका प्रमुखहरूले दक्ष जनशक्ति तयार पार्न गरिएको लगानी बीचमै नष्ट हुनु राज्यका लागि आर्थिक चुनौती भएको बताएका छन्। नयाँ कर्मचारी भर्ना र तालिम दिनुका साथै पेन्सन सुविधा प्रदान गर्नुपर्ने भएकाले सरकारी खर्च बढ्ने जोखिम छ।

यस समस्याको दीर्घकालीन समाधानका लागि अवकाश उमेर सीमा ५८ वर्षबाट ६० वर्ष पुर्‍याउने प्रस्ताव पनि हाल विचाराधीन छ।