काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ। उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा बनेको यस गीतले नेपाली महिलाको सपना, संघर्ष, गरिबी र मौन पीडालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
गीतको भिडियोमा मोडल ललिता पौडेलसहित ६० जना कोरस डान्सरको सहभागिता छ। भिडियोमा तीजको रमाइलो र उत्सवसँगै महिलामाथि हुने हिंसा, गरिबी, कठोर परिश्रम र परिवारको जिम्मेवारीजस्ता यथार्थपरक विषयहरू देखाइएको छ।
सार्वजनिक भएको केही घण्टामै यस गीतले युट्युबमा हजारौँ लाइक र टिप्पणी पाएको छ। ‘पुतलीको भट्टी’ भाग २१ को रूपमा आएको यो गीतले परम्परागत तीज गीतको माध्यमबाट महिलाले वर्षभरि भोग्ने समस्याहरूलाई पनि उजागर गरेको छ।






