धादिङ । यस वर्ष शैक्षिक सुधारको घोषणा गरेको रूबीभ्याली गाउँपालिकाले कक्षा १२ को परीक्षामा धादिङ जिल्लाभर उत्कृष्ट नतिजा हासिल गरेको छ।
गाउँपालिकाअन्तर्गत मुक्राप देवी माध्यमिक विद्यालय र लापा माध्यमिक विद्यालय दुवैले उच्च सफलता हासिल गरेका छन्। मुक्राप देवी मा.वि.का २२ मध्ये १८ जना विद्यार्थी उत्तीर्ण भई ८१.८२ प्रतिशत नतिजा ल्याए भने लापा मा.वि.का १४ मध्य सबै विद्यार्थी उत्तीर्ण भई १०० प्रतिशत नतिजा प्राप्त भयो।
जम्मा ३६ जना सहभागी विद्यार्थीमध्ये ३२ जना उत्तीर्ण भई रूबी भ्यालीको समग्र उत्तीर्ण प्रतिशत ८८.८८ पुगेको छ, जुन राष्ट्रिय औसत ६१.७७ प्रतिशतभन्दा निकै उच्च हो।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङका अनुसार यो परिणाम गाउँपालिकाको शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो। “शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासले नै यस्तो सफल नतिजा सम्भव भएको हो,” उनले बताए।







