हेमा घिमिरेको उपचारका लागि डल्लाकोटीको पहलमाडेनमार्कबाट ५५ हजार नगद सहयोग

धादिङ । नीलकण्ठ नगरपालिका–१४ डाँडागाउँ निवासी हेमा श्रेष्ठ घिमिरे (शान्ता) को उपचारका लागि डेनमार्कबाट आर्थिक सहयोग प्राप्त भएको छ। राष्ट्रका लागि लडाइँको क्रममा सन् २००५ (वि.सं. २०६१ फागुन २ गते) मा गोली लागेर घाइते भएकी घिमिरेको शरीरमा राखिएको कृतिम हड्डीको म्याद सकिएपछि तत्काल नयाँ हड्डी प्रतिस्थापन गर्नु पर्ने अवस्था आएको हो।

उपचारको लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सरकारी अस्पतालले शल्यक्रिया खर्च व्यहोर्ने भए पनि आवश्यक विदेशी हड्डीको आपूर्ति खर्च पीडित परिवारले स्वयं जुटाउनु पर्ने बाध्यता रहेको छ।

यसै सन्दर्भमा, डेनमार्कमा बसोबासरत शान्ति बस्नेत र टोलेन्द्र राज गिरीले मिलेर प्रारम्भिक चरणमा रु ५५,००० सहयोग पठाएका छन्।
उक्त सहयोग संकलनका लागि मनोज कुमार डल्लाकोटी (हेमा घिमिरेका परिवार सदस्य) तथा उनका छोरा मार्फत पहल गरिएको थियो।

“पीडाको बोझ हलुका बनाउन सहानुभूतिको हात उठाउनु ठूलो कुरा हो,” सहयोगकर्ताहरूले भने।

हेमा घिमिरेका श्रीमान् रामहरि घिमिरे (प्रज्वल) ले सामाजिक सञ्जालमार्फत अझ धेरै सहयोगदाताहरूको अपेक्षा व्यक्त गर्दै सबैलाई आभार प्रकट गरेका छन्।