नेपालमा फेसबुक मनिटाइजेसनका चुनौती र सम्भावना: केदार तिमल्सिना

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा सामग्री निर्माण गर्ने नेपाली प्रयोगकर्ताले हालसम्म पनि मोनिटाइजेसन (आम्दानी गर्ने सुविधा) पाउन सकेका छैनन्। विज्ञहरूका अनुसार यसको प्रमुख कारण नेपाल मेटा कम्पनीको मोनिटाइजेसन पार्टनर देशको सूचीमा नपर्नु हो।

नेपालमा लाखौं प्रयोगकर्ताले फेसबुक प्रयोग गरिरहे पनि यहाँबाट सोझै आम्दानी गर्ने प्रणाली अवरुद्ध छ। मेटाले प्रदान गर्ने मोनिटाइजेसन सेवाका लागि आवश्यक पेपल, स्ट्राइप जस्ता भुक्तानी माध्यम नेपालमा अझै पनि सञ्चालनमा छैनन्, जसले नेपाली सामग्री उत्पादकहरूलाई अन्तर्राष्ट्रिय मञ्चबाट टाढा बनाइरहेको छ।

सूचना प्रविधि क्षेत्रका जानकारहरू भन्छन्, “नेपालले डिजिटल अर्थतन्त्रलाई विस्तार गर्न फेसबुक लगायतका प्लेटफर्मसँग द्विपक्षीय सहकार्य गर्नु आवश्यक छ।” तर हालसम्म सरकारको तर्फबाट कुनै ठोस पहल नभएको उनीहरूको भनाइ छ।

पछिल्ला वर्षहरूमा युट्युब र टिकटक जस्ता प्लेटफर्ममार्फत नेपाली युवा डिजिटल सामग्री निर्माणमा सक्रिय देखिए पनि फेसबुकमा मोनिटाइजेसनको सुविधा नहुँदा निराशा फैलिएको छ। नेपालमै बसेर फेसबुकबाट आय गर्न सकिने वातावरण बनाउन सके हजारौं युवा रोजगारी र आत्मनिर्भरतातर्फ उन्मुख हुने सम्भावना देखिन्छ।

डिजिटल अधिकारकर्मीहरूका अनुसार, अबको प्राथमिकता नेपाललाई मेटाको मोनिटाइजेसन समर्थित देशको सूचीमा ल्याउनु र अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई सहज बनाउनु हुनु आवश्यक छ।