त्रिपुरासुन्दरीमा वार्षिक बजेट तथा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकामा चालू आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन सन्दर्भमा आयोजित कर्मचारी लक्षित अनुशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देबराज धरेल, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी, वडा अध्यक्षहरू तथा गाउँपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

अनुशिक्षणको उद्देश्य बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयन, पारदर्शी सेवा प्रवाह, अनुगमन तथा मूल्यांकन प्रक्रियामा एकरुपता कायम गर्नु रहेको थियो। कार्यक्रममा वार्षिक कार्ययोजना (AWP) निर्माण, सार्वजनिक खरिद प्रक्रिया, वित्तीय अनुशासन, परिणाममुखी कार्यान्वयन प्रणाली तथा अनुगमनका सूचकहरूबारे जानकारी दिइएको थियो।

गाउँपालिका अध्यक्ष उप्रेतीले नीति तथा कार्यक्रम केवल कागजी प्रक्रिया नभई स्थानीय विकासको मार्गचित्र भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सबै कर्मचारी एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उपाध्यक्ष धरेलले नीति–कार्यक्रम जनताको अपेक्षा पूरा गर्ने माध्यम भएकाले यसको सफल कार्यान्वयनमा उत्तरदायित्व र समर्पण जरुरी रहेको बताए।

कार्यक्रमको अन्त्यमा सहभागी कर्मचारीहरूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै सेवा प्रवाहमा अझ पारदर्शिता र प्रभावकारिता ल्याउने प्रतिबद्धता जनाएका थिए।