काठमाडौं, साउन १६ – नेपाल पर्वतारोहण संघ (NMA) को आगामी भदौ ७ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि चार जना वरिष्ठ पर्यटन व्यवसायीहरूले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। संघको नेतृत्वका लागि प्रतिस्पर्धा गर्दै फुर गेल्जे शेर्पा, कुलबहादुर गुरुङ, टिकाराम गुरुङ र ठाकुरराज पाण्डे मैदानमा उत्रिएका छन्।
शेर्पाको ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ सपना
वरिष्ठ पर्यटन व्यवसायी फुर गेल्जे शेर्पाले “पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित उम्मेदवारी दिएका हुन्। शेर्पाले नेपालमा हिमालसम्बन्धी गहिरो अध्ययन तथा तालिमका लागि माउन्टेन टुरिजम युनिभर्सिटी स्थापना गर्ने योजना सार्वजनिक गरेका छन्। साथै, हिमाली क्षेत्रमा उद्धार प्रणाली मजबुत पार्न प्रशिक्षित स्थानीय युवाबाट रेस्क्यु टिम निर्माण गर्ने उनको योजना छ।
कुलबहादुरको ‘८ एम अभियान’
संघका पूर्व महासचिव कुलबहादुर गुरुङले पर्वतीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित उम्मेदवारी दिएका छन्। उनले हिमालदेखि हिमाली श्रमिकसम्म जोड्ने ‘८ एम रणनीति’ सार्वजनिक गरेका छन्। गुरुङको मुख्य एजेन्डा सुरक्षित पर्वतारोहण, श्रमिकको हकहित, संस्थागत सुधार र समुदाय सशक्तीकरण रहेको छ।
टिकाराम गुरुङको अनुभवमा भरोसा
संघका पूर्व सचिव तथा सगरमाथा आरोही टिकाराम गुरुङले पनि अध्यक्ष पदमा दाबी गरेका छन्। गहिरो अनुभव र नेतृत्व क्षमतामार्फत संघलाई सशक्त बनाउने अठोट व्यक्त गरेका गुरुङको विस्तृत योजना सार्वजनिक भइनसकेको भए पनि पर्वतीय क्षेत्रका मतदाताले उनको अनुभवको कदर गर्ने अपेक्षा गरिएको छ।
पाण्डेको समन्वय र महिला सहभागिता प्राथमिकता
वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै बजेटको शालिन प्रयोग, महिला आरोहीको सम्मान र संघ–सरकार समन्वयमा जोड दिएका छन्। उनले संघको खर्च कटौती गर्दै त्यसलाई आरोही बालबालिकाको शिक्षामा लगानी गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि भइरहेको यो चौतर्फी प्रतिस्पर्धा पर्वतीय पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्ने महत्वपूर्ण मोड बन्ने देखिएको छ।




























