अमेरिकाले भारतबाट आयात हुने वस्तुहरूमा २५% भन्सार कर लगाउने घोषणा

अन्तर्राष्ट्रिय खबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा आगामी अगस्ट १ देखि लागू हुने गरी २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल Truth Social मा पोष्ट गर्दै ट्रम्पले भारतले रूसबाट ठूलो परिमाणमा सैन्य उपकरण र ऊर्जा खरिद गरिरहेको आरोप लगाएका छन्। उनले यसलाई अस्वीकार्य भन्दै भारतमाथि शुल्क बढाउने निर्णय लिएको बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतले रूससँग व्यापार गरिरहेकै कारण अमेरिका यस्तो कदम चाल्न बाध्य भएको ट्रम्पको तर्क छ। यद्यपि भारत र अमेरिकाबीच निष्पक्ष तथा पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौताका लागि विगत केही महिनादेखि वार्ता भइरहे पनि कुनै ठोस सहमति बन्न सकेको थिएन।

भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयले घटनाको जानकारी लिएको र यसको असरको अध्ययन भइरहेको जनाएको छ। विपक्षी कांग्रेस पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको ट्रम्पसँगको मित्रतालाई विदेश नीति विफल भएको संज्ञा दिएको छ भने सत्तारुढ भारतीय जनता पार्टी (BJP) का सांसदहरूले अमेरिकी पक्षसँग पुनः संवाद गर्नुपर्ने बताएका छन्।