सिरानबजार रिजालथोक सडक कालोपत्रेसहित स्तरोन्नति गर्न ३ करोड बजेट

धादिङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गत नीलकण्ठ नगरपालिका–४ मा पर्ने सिरानबजार–पौवा–रिजालथोक–भैरबी सडकको स्तरोन्नति तथा कालोपत्रे (पिच) गर्ने कार्यका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उक्त सडक स्तरोन्नतिको प्रारम्भिक चरण अन्तर्गत डिभिजन सडक कार्यालय नुवाकोटले आज (साउन ९ गते) बाट औपचारिक रूपमा फिल्ड सर्वेक्षण कार्य सुरु गरेको छ।
सर्वेक्षण कार्यमा मन्त्रालयका प्रतिनिधि, प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूको सहभागिता रहेको थियो।

डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख सुबोध कुमार देवकोटाका अनुसार फिल्ड सर्वेक्षणको आधारमा लागत अनुमान (इस्टिमेट) तयार पारिनेछ र त्यसपछि छिट्टै ठेक्का आह्वान (टेन्डर) गरिनेछ।
“हामी दशैँअघि नै सडक स्तरोन्नतिको काम सुरु गर्ने लक्ष्यमा छौं,” देवकोटाले जानकारी दिनुभयो।

स्थानीयवासीहरू सडक सुधार प्रक्रियाले गति लिएकोमा खुसी व्यक्त गर्दै, गुणस्तरप्रति कडा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
स्थानीय समाजसेवी एवं व्यवसायी राजकुमार श्रेष्ठले भने, “हामीले विगतमा पनि पटक–पटक सडक बनाउने कुरा सुन्यौं तर गुणस्तरको कमीले छिट्टै सडक बिग्रन्थ्यो। अहिलेको काम दीर्घकालीन र मापदण्डअनुसार हुनुपर्छ।”

त्यस्तै, अर्का समाजसेवी राजाराम श्रेष्ठले निर्माण सामग्रीको गुणस्तर, ढल निकास, पानीको बहाव र सडकको चौडाइ लगायतका पक्षमा प्राविधिक टोलीले विशेष ध्यान दिन जरुरी रहेको बताए।

नीलकण्ठ–४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले भने,
“यो सडकको काममा गुणस्तरमा कुनै सम्झौता हुने छैन। म स्वयं पनि निगरानीमा रहनेछु, अन्य प्रतिनिधिहरूलाई समेत अनुगमनमा खटाइनेछ। प्राविधिकहरूसँग सल्लाह गरेर काम अगाडि बढाइन्छ।”

उनका अनुसार आगामी वर्ष यो सडकलाई रिजालथोक हुँदै मैदानसम्म विस्तार गर्ने योजना पनि रहेको छ।