त्रिपुरासुन्दरीले सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि काठमाडौं, चितवन र पोखरामा सेवा दिने

धादिङ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने स्थायी बासिन्दाहरूका लागि काठमाडौं, चितवन र पोखरामा परिचयपत्र नविकरणको सेवा दिने भएको छ। गाउँपालिकाले जिल्ला बाहिर रहेका लाभग्राहीलाई लक्षित गरी विभिन्न मितिमा सेवा सञ्चालन गर्न लागेको हो।

गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ४(४) अनुसार, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको भदौ मसान्तभित्र अनिवार्यरूपमा परिचयपत्र नविकरण गरिसक्नुपर्ने व्यवस्था रहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ बाट वायोमेट्रिक प्रणालीमार्फत परिचयपत्र नविकरण गर्नुपर्ने भएकोले सेवा घुम्ती सिविरको रूपमा उपलब्ध गराइनेछ।”

सेवाका मिति र स्थानहरू यसप्रकार छन् :
१. काठमाडौं
मिति: २०८२ साउन ९ र १० गते
समय: बिहान ८:०० देखि साँझ ५:०० बजे सम्म
स्थान: आन्तरिक राजश्व कार्यालय परिसर, कलंकी

२. चितवन
मिति: २०८२ साउन १२ र १३ गते
समय: बिहान ८:०० देखि साँझ ५:०० बजे सम्म
स्थान: रत्ननगर नगरपालिका वडा नं. २ को कार्यालय परिसर, टाँडी

३. पोखरा
मिति: २०८२ साउन १५ र १६ गते
समय: बिहान ८:०० देखि साँझ ५:०० बजे सम्म
स्थान: पोखरा महानगरपालिका वडा नं. ९ को कार्यालय परिसर, न्युरोड

पालिकाले लाभग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई परिचयपत्र नविकरण गर्न अनुरोध गरेको छ। यदी तोकिएको समयमा नविकरण गर्न नसकेमा लाभग्राही स्वयं जिम्मेवार हुने र थप प्रक्रिया पालिकाको नियमअनुसार अघि बढ्ने जानकारी पनि सूचनामार्फत दिइएको छ।

यस सेवाबाट काठमाडौँ, चितवन वा पोखरामा बसोबास गरिरहेका लाभग्राहीहरूलाई सहज हुने अपेक्षा गरिएको छ।