आज ४३ औँ बीपी स्मृति दिवस : विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरेर मनाइएको छ।

बीपी कोइरालाले नेपालको प्रजातान्त्रिक इतिहासमा मात्र होइन, साहित्यिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए। मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’ लगायत उपन्यासहरू लोकप्रिय छन्।

उनको स्मृतिमा आज नेपाली काँग्रेस, भ्रातृ संगठन तथा बीपी संग्रहालय समितिको संयोजनमा देशैभर कार्यक्रमहरू आयोजना गरिएको छ। यसै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गरेको छ।

बीपी कोइरालाको निधन वि.सं. २०३९ साउन ६ गते भएको हो। उनका विचारहरू आज पनि मुलुकको राजनीतिमा सान्दर्भिक ठानिन्छ।