केआईआईटी कलेजमा फेरि नेपाली छात्रा मृत फेला

भारत, ओडिसा — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छिन्।

मृत्यु हुनेमा नेपाल वीरगञ्ज, पर्साकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। उनी कलेज परिसरभित्र रहेको छात्रावासको कोठामा मृत अवस्थामा फेला परेको जनाइएको छ। घटनाबारे भारतीय प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ।

यसअघि, गत फागुन महिनामा सोही कलेजमा अध्ययनरत रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल पनि छात्रावासमै मृत फेला परेकी थिइन्। लम्सालले कलेजमा आफूमाथि दुर्व्यवहार भइरहेको भन्दै पटक–पटक उजुरी दिए पनि कलेज प्रशासनले वेवास्ता गरेको पाइएको थियो। उक्त घटनापछि भारतको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन गर्दै विश्वविद्यालय प्रशासनको लापरवाही भएको ठहर गरेको थियो।

पुनः नेपाली छात्राको ज्यान गएको घटनाले ओडिसास्थित केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। घटनापछि भारत र नेपाल दुवै देशका सम्बन्धित निकाय, दूतावास र विद्यार्थी संघसंस्थाहरूले चासो व्यक्त गरेका छन्।

प्रिसा साहको मृत्युको कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाको प्रकृति र कारण पत्ता लगाउन छानबिन गरिरहेको जनाएको छ।

यसैबीच भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन र कलेज प्रशासनको जवाफदेहिता सुनिश्चित गर्न माग गरेका छन्।