जापानी राजदूत तोरू र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामा बीच भेटवार्ता

लुम्बिनी । नेपालका लागि जापानी राजदूत मायडा तोरू र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ) बीच सोमबार लुम्बिनीमा भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास, लुम्बिनी गुरुयोजना, र प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोटलाई यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास लगायतका विषयमा छलफल भएको लुम्बिनी विकास कोषले जनाएको छ।

उपाध्यक्ष लामाले जापानका प्रख्यात वास्तुविद् केन्जो टाङ्गेले सन् १९७२ देखि १९७८ सम्म तयार पारेको लुम्बिनी गुरुयोजना अझै पूरा नभएकाले गुरुयोजना सम्पन्न गर्न जापान सरकारसँग सहयोगको आग्रह गरेका छन्। उनले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्न र जापानबाट लुम्बिनीमा सिधा हवाई सम्पर्क स्थापना गर्न पहल गरिदिन पनि अनुरोध गरेका थिए।

भेटमा राजदूत तोरूले लुम्बिनी विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरूको पवित्र स्थल भएकाले यसको संरक्षण र विकासमा जापानले सधैं सहकार्य गर्ने प्रतिबद्धता जनाए। साथै, लुम्बिनीलाई पुरातात्विक मात्र नभई धार्मिक गन्तव्यका रूपमा पनि प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषसँग सहकार्य गर्न इच्छुक रहेको बताए।

भेटमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, विश्व पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको उपस्थिति रहेको थियो।

राजदूत तोरू नेतृत्वको टोलीले मायादेवी मन्दिर, तिलौराकोट दरबार क्षेत्रलगायतका पुरातात्विक क्षेत्रको अवलोकन भ्रमण गर्ने र लुम्बिनी वर्ल्ड हेरिटेज कन्फ्रेन्समा समेत सहभागी हुने कार्यक्रम रहेको छ।