धादिङ । युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता धादिङमा बैशाख १३ गतेदेखि सुरु हुने भएको छ।
प्रदेश खेलकुद विकास परिषदको निर्देशन अनुसार आ.व. २०८०/८१ को जिल्ला स्तरीय प्रतियोगिता धादिङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बैशाख १३, १४ र १५ गते नीलकण्ठ नगरपालिका–३, धादिङबेसीस्थित रणवन खेलमैदानमा आयोजना गरिने भएको हो।
प्रतियोगितामा धादिङ जिल्लाका १३ वटै स्थानीय तह — नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका, नेत्रावती डब्जोङ गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, गङ्गाजमुना गाउँपालिका, रुबीभ्याली गाउँपालिका, खनियाबास गाउँपालिका, गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकाबाट** खेलाडीहरूको सहभागिता रहनेछ।
प्रतियोगिताका लागि सम्बन्धित पालिकाहरूले आ–आफ्ना खेलाडीहरूको विवरण र आवश्यक कागजात पठाउनु पर्नेछ। खेलाडी विवरण, खेलाडी सहमति फारम तीन प्रति, जन्ममिति प्रमाणपत्र वा नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संकलन गरिनेछ। यससँगै खेलाडीहरूको विमा गरिनुपर्ने समितिले जानकारी दिएको छ।
धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङका अनुसार सबै पालिकाहरूलाई बैशाख १२ गते २:०० बजेभित्र खेलाडीको विवरण जिल्ला खेलकुद विकास समितिको कार्यालय, नीलकण्ठ–३, धादिङमा वा इमेल [email protected] मा पठाउन अनुरोध गरिएको छ।
समितिले आवश्यक कागजात समयमै उपलब्ध नगराएमा तथा विभाग नाम छुटिएमा प्रतियोगिताको जिम्मेवारी समितिले नलिने स्पष्ट पारेको छ।
समितिका अध्यक्ष तामाङले जिल्लाभरिका सबै पालिकाहरू, खेलकुद प्रेमीहरू र सरोकारवालाहरूलाई समयमै विवरण पठाई प्रतियोगिता सफल पार्न आग्रह गर्दै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
सम्पर्क नं.:
९८५१०५०००९ / ९८५१३७३०७० / ९८५१३७३०७१
कार्यालय सम्पर्क नं.: ०१०-५२०४२९