काठमाडौं । चलचित्र ‘पुष्पा २’ ले विश्वभरका थिएटरमा धुम मच्चाइरहेको बेला फिल्मका मुख्य कलाकार सुपरस्टार अल्लु अर्जुनमाथि ठूलो कारबाही भएको छ । हैदरावादको सन्ध्या थिएटर काण्डमा प्रहरीले अभिनेतालाई पक्राउ गरेको छ ।
अल्लु अर्जुनलाई पक्राउ गरेपछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिने छ । अल्लु अर्जुन र उनको टोलीले महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए। अभिनेताले महिलाको परिवारलाई पनि भेटे र २५ लाख सहयोग गर्ने वाचा गरेका थिए ।
डिसेम्बर ४ मा चलचित्र ‘पुष्पा २’ को स्पेशल स्क्रिनिङका क्रममा थिएटरमा भागदौड मच्चिँदा ३५ वर्षीया महिलाको मृत्यु भएको थियो । अल्लु अर्जुन पनि यस स्क्रिनिङको हिस्सा बन्न थिएटर पुगेका थिए । उनलाई हेर्नको लागि भीड नियन्त्रण बाहिर गएको थियो । यस घटनामा प्रहरीले अल्लु अर्जुन र थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको थियो । अब यस मामिलामा अल्लु अर्जुन पक्राउ परेका छन् ।