नेपाली फिल्महरूले १ करोड कमाउदा जम्मा ३८ लाख निर्माताको हातमा पुग्छ

काठमाडौं । यस बर्ष दशैंदेखि तिहारसम्म ५ वटा नेपाली फिल्मको ब्यापार नै सय करोड क्लबमा पुगेको छ। 

घटस्थापनाको मौकामा रिलिज भएको निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’, फूलपातीको साइत बनाएको दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’, बिराज भट्ट निर्देशित ‘१२ गाउँ’, बसन्त निरौला निर्देशित ‘ज्वाँई साहब’, तिहारको अवसर पारी रिलिज भएको बिजय बराल लिड रोल रहेको ‘पूर्णबहादुरको सारङ्गी’लाई नेपाली दर्शकले राम्रो ब्यापार बढाइदिए। 

भयानक र ठूला भनिएका बलिउड फिल्महरू भूलभूलैया ३ र सिंघम अगेनले पनि नेपाली फिल्मलाई टक्कर दिने अवस्था रहेन भने साउथ इन्डियन फिल्म कँगुवा त वितरकले नेपालमा प्रदर्शन नै गर्ने हिम्मत राखेनन्।

बेहुली फ्रम मेघौलीले ५ करोडको व्यापार गरेको थियो। तर हिन्दी फिल्मलाई हल शेअरिङ गरी उक्त फिल्मलाई शो नदिएपछि उतारिएको थियो। अभिनेता रहेका निश्चल बस्नेत आक्रोशित बने पनि ब्यापार सन्तोषजनक भयो। समग्रमा फिल्म राम्रो चल्यो।

१२ गाउँले २६ करोडको व्यापार गरेको थियो। यस्तै छक्का पञ्जा ५ ले २० करोडको व्यापार गरेको थियो। भिडभाडमा, थिचोमिचोमा परे पनि ज्वाँई साहबले पनि ३ करोडको व्यापार गरेको थियो। यस फिल्मका निर्देशक निरौलाले भने,‘यो फिल्मको आम्दानीमा सन्तुष्ट मान्नुपर्छ। भिड्दाभिड्दै पनि घाटा भएन व्यापार राम्रो भयो।’

नेपाली फिल्म उद्योगको कायाकल्प र इतिहासचाहिँ पूर्णबहादुरको सारङ्गीले कायम राख्यो। हलबाट उतारिनुअघि उक्त फिल्मले लगभग पौने दुई करोडको लगानी गरेको थियो तर ४५ करोडको त ब्यापार नै गरिदियो। यो घरेलु ब्यापारको आँकडा हो भने ओभरसिजको रकम जोडिएको छैन।

नेपाली फिल्महरुको व्यापार यति भयानक भए पनि निर्माताको हातमा कति रकम पुग्छ? योचाहिँ अहिलेको मूल चासोको विषय बनेको छ।

यी फिल्मको आम्दानीको हिसाबकिताब अनौठो हुन्छन्।   

कुनै चलचित्रको १ करोड कलेक्सन भएको छ भने, सबै कुरा काटकुट पार्दा निर्माताको हातमा झन्डै ३८ लाख अर्थात् ३८ प्रतिशत मात्र पर्छ। यसमा वितरकसँगको सम्झौता के हो, त्यो महत्त्वपूर्ण हुन्छ।

ग्रस कलेक्शन एक करोड भयो भने भ्याट र स्थानीय कर १७% प्रतिशत हुँदा एक करोडमा ८३ लाख रहन्छ। 

हल र निर्माताको भागबन्डा उक्त रकममा आधा–आधा हुन्छ। 

वितरकको कमिसनन १५ प्रतिशत हुन्छ। मानौ एक करोडको हिसाबमा निर्माताको हातमा परेको ४१ लाखको ६ लाख १५हजार वितरकको कमिशन दिएपछि ३४ लाख ८५ हजार निर्माताको हातमा पर्दछ। यो सरदर हिसाबकिताबको एउटा नमूना आँकडा मात्र हो।

यसमा खर्च कटौतीपछि हुने नाफामा आयकर पनि लाग्छ। यस हिसाबले त २० करोडको व्यापार गरेको छक्का पञ्जाका निर्माता आमा सरस्वती मुभिजले आयकर बाहेक बढीमा ७ करोडको हाराहारीमा खुदनाफा रकम पाउँछ। 

१२ गाउँको सन्दर्भमा पनि २६ करोडको व्यापार गर्दा नौ करोड र केही लाख मात्र निर्माताको खल्तीमा पुग्ने रहेछ। 

सबैभन्दा ज्यादा व्यापार गरेको पूर्णबहादुरको सारङ्गीका निर्माताको हातमा १५ करोड ७५ लाख पुग्छ, आयकरबाहेकको रकम। यसको अर्थ के हो भने ४५ करोडको व्यापार गरेको एउटा फिल्मले २९ करोडचाहिँ भागवन्डा, शर्त र करमा तिर्नुपर्ने देखिन्छ। यस हिसाबले ३ करोडको मात्र व्यापार गरेको ज्वाँई साहबका निर्माताको हातमा एक करोड रकम पुग्ने रहेछ।

आक्रामक व्यापार गरिएको भनी चर्चा गरे पनि ५ करोडको मात्र व्यापार गरेको बेहुली फ्रम मेघौली जस्तो फिल्म निर्माताको हातमा एक करोड ७५ लाख मात्र आयकर नतिरेको रकम पर्ने रहेछ। 

नेपाली फिल्मको बजार बिस्तारको क्रम बलियो बने पनि निर्माताको हालतचाहिँ कमजोर हुने यो एउटा गतिलो उदाहरण हो।